
– अर्जुननरसिंह के.सी. –
हड्तालको सफलताका लागि गिरिजाबाबु समर्पित भएर खट्नुभएको, पिताजी कृष्णप्रसाद कोइरालाको विराटनगरमा रहेको ठूलो प्रभाव, कोइराला परिवार तथा अन्य शुभेच्छुकहरुबाट मिलेको सहयोग र हौसालाले गर्दा मजदुर आन्दोलनले गिरिजाबाबुको नेतृत्वमाथि सर्वाधिक आस्था र विश्वास राखेको थियो ।
हड्ताल चलेको भोली–पर्सिपल्ट नै मनमोहन अधिकारीको आमन्त्रणमा दार्जिलिङ भारत का कम्युनष्टि नेता रतनलाल ब्राम्हण माइलाबाजे आन्दोलनलाई वामपन्थी पक्षमा डोहोर्याउने लक्षले विराटनगर आइपुगेका थिए । तर हडतालको पाचौ दिनमा नेपाल राष्ट्रिय काँग्रेसका कार्यकारी सभापति बीपी कोइराला विराटनगर आइपुग्नु भयो भने बीपी पुग्नुभएको तीन दिनपछि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महामन्त्री बालचन्द्र शर्मा, गोपालप्रसाद भट्टराई पनि विराटनगर पुग्नुभयो । जेलबाट फरार भएपछि गणेशमानजीले नेपाली भूमिमा पदार्पण गरेको यो नै पहिलो घटना थियो । मजदुरहरु हड्ताल गरेर दिनहुँ नारा लगाउँदै विराटनगर परिक्रममा गरेर आफ्ना माग र विचारहरु व्यक्त गर्दथे । हड्ताली मजदुरहरुलाई कोइराला निवास बाट चिउराको खाजा र पानी वितरण गरिन्थ्यो । आन्दोलनकै क्रममा सेनाको गोली लागेर मजदुर तुलाराम तामाङको निधन भयो । उहाँ नै नेपालको पहिलो सहिद मजदुर हुनुभयो ।
हड्ताल निरन्तर चलिरहेकै बेला २२ दिनपछि चैत १२ गते बीपी, गिरिजाबाबु, मनमोहनजी, तारिणीप्रसाद, युवराज अधिकारी र गेहेन्द्रहरि शर्मालाई काठमाडौबाट गएको २५० जना सैनिक जत्थाले पक्राउ गरी धनकुटा थुनामा पुर्यायो । त्यहाँबाट अड्डासार गर्दै पहाडको बाटो २४ दिन पैदल हिँडाएर काठमाडौ लगियो । त्यही स्थितिमा मातृकाप्रसाद कोइराला पार्टीको कार्यकारी सभापति बन्नुभएको थियो । २९ दिनदेखि चलिरहेको सो मजदुर आन्दोलन, सत्याग्रह गर्ने तयारीमा लागि १५ दिन स्थगित गर्ने पार्टीको निर्णय बमोजिम काँग्रेसकै आह्वानमा चैत १८ गतेबाट रोकियो ।
नेपालमा आमरण अनशन गर्ने पहिलो महिला नन्दा नेपाल पनि विराटनगरकै मजदुर थिइन् । विराटनगरको जुटमिलमा भएके ००७ सालको आन्दोलनका क्रममा २७ दिन आमरण अनशन गरेकी नन्दाको स्थायी घर ताप्लेजुङ, माईती ओखलढुङ्गा र बसोबास विराटनगरमा थियो ।
नेपाली राष्ट्रिय काँग्रेसको स्थापना हुनासाथ पार्टीको लक्षलाई सर्वप्रथम नेपाल धर्तीमा उतारेको श्रेय विराटनगरका मजदुरहरुलाई जान्छ, जहाँ देशभरिबाट गएका श्रमिकहरु काम गर्दथे । यो आन्दोलनले काँग्रेसका अन्य राजनीतिक समुदायलाई पनि संघर्षको लागि साहस र आँट भर्यो । नेपाली काँग्रेस तथा लोकतान्त्रिक आन्दोलनको इतिहासमा नेपाली श्रमिकहश्रको सम्मानित स्थान छ । यो स्थान नेपालका श्रमिकहरु स्वयंले बनाइएका हुन् ।
२००३ साल फागुनमा नेपाल मजदुर संघको नामबाट स्थापित काँग्रेस सरहको उमेर रहेको यो भातृसंस्थाको २०४७ सालमा नाम परिवर्तन गरी नेपाल ट्रेड युनियन काँग्रेस त्यसपछि नाममा स्वतन्त्र थपिएको गठन गर्नुका साथै लक्ष्मणबहादुर बस्नेत अध्यक्ष र विजयकुमार गुप्ता महासचिव र सुदिष्टलाल दास सचिव रहेको सात सदस्यीय तदर्थ समिति गठन भयो ।
नेपाल ट्रेड युनियन काँग्रेस स्वतन्त्रका अधिवेशन तथा नेतृत्व :
जनकपुरधाममा २०५० फागुन ११–१३ मा भएको तीनदिने प्रथम अधिवेशनले बस्नेत अध्यक्ष र खिलानाथ दाहाल महासचिव तथा हरि लम्साल सचिव रहेको १९ सदस्यीय राष्ट्रिय समिति निर्वाचित गर्यो । २०५४ फागुन १५ मा भएको दोस्रो अधिवेशन, पोखराबाट बस्नेत पूर्ववत अध्यक्ष, पुष्कर आचार्य महासचिव र रामजी कुँवर सचिव रहेको २१ सदस्यीय राष्ट्रिय समिति निर्वाचित भयो । २०५९ फागुन १५ मा सम्पन्न तेस्रो राष्ट्रिय अधिवेशनमा बस्नेत पूर्ववत अध्यक्ष, अच्युतराज पाण्डे महासचिव र प्रेमसिंह बोहरा उपमहासचिव रहेको २६ सदस्यीय राष्ट्रिय समिति निर्वाचित भयो । क्रमशः









