
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका संशोधन नहुने स्पष्ट पारेको छ । आयोगको कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले माघ ६ गते मनोनयन दर्ता हुने र कार्यतालिका तोकिएको अनुसारै रहने बताएका छन् । भण्डारीले कार्यतालिका बनाएर थुप्रै कार्यसम्पादन गरिसकेकाले अब माघ ६ गते मनोनयन पत्र दर्ता गर्ने समय आएको उल्लेख गरेका छन् । उनले मनोनयन दर्ताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी पनि दिएका छन् । निर्वाचन आचारसंहिता लागू भएको र चार महिना अगाडि प्रकाशित कार्यतालिका अनुसार नै कार्यक्रमहरू सञ्चालन भइरहेको बताउँदै भण्डारीले अब कुनै पनि विषयवस्तुमा संशोधन, थपघट जस्ता काम नहुने बताएका छन् । उनले तोकिएको मितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन हुने धारणा राखेका छन् । आयोगले निर्धारण गरेको समयभित्रै मनोनयन पत्र दर्ता गर्नुपर्ने र दर्ता भइसकेपछि जाँचबुझ तथा अन्य कानुनी प्रक्रिया अघि बढ्ने उनले बताएका छन् । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनबाट रास्वपा सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेका छन् । जनकपुरमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै लामिछानेले अघिल्लो चुनावमा आफूले सबैभन्दा धेरै मत पाएको भन्दै आगामी निर्वाचनमा पार्टीले सबैभन्दा बढी मत पाएर ठूलो पार्टी बन्ने दाबी गरेका छन् । केहीले रास्वपा मधेशमा कमजोर रहेको भन्ने गरे पनि अहिले पार्टी मधेशमा समेत बलियो भएको उनले बताएका छन् । उनले आफूविरुद्ध अघिल्लो सरकारले धेरै मुद्दा लगाएको भन्दै जनताको मुद्दा बोकेको मान्छेलाई अरु मुद्दाको मतलब भएको बताएका छन् । देशको हितलाई केन्द्रमा राखेकै कारण आफू र बालेन एकै ठाउँमा आएको उनको भनाइ छ । उनले जेनजी युवाहरूलाई गोली ठोकेको सरकारले लगाएको मुद्दाले आफूलाई फेरि जेलमा पुर्याए पनि अब देशले बालेन पाएकाले कुनै चिन्ता नरहेको बताएका छन् । त्यसैगरी प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिँदै गर्दा डा. शेखर कोइराला र गगन थापासँग मिलेर अघि बढ्ने भन्ने समाचारहरू सार्वजनिक भए पनि त्यसमा कुनै सत्यता नभएको बताइएको छ । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका कुनै पनि सदस्यले डा. शेखर कोइरालासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्पर्क तथा छलफल नगरेको स्पष्ट पारिएको छ ।









