
प्रदीप गिरी
त्यो फेरबदल फेरि मामुली पनि थिएन, पूरै छत्तीसको अंक थियो । नेपाली काँग्रेसको वर्तमान पार्टी पंक्ति कोइरालाका प्रत्येक शब्द र कृत्यलाई श्रद्धाका साथ हेर्दछ । त्यसले गर्दा पार्टी अप्ठेरोमा पर्छ । नेताहरुले आफूखुशी कोइरालाका उद्धरण छानेका र प्रयोग गरेका छन् । तर, कथित कालखण्डको पृष्ठभूमिको जानकारकिा अभावमा त्यस्ता उद्धरणले अर्थको अनर्थ पनि लागेको भेटिन्छ । जानकारीका अभावमा त्यस्ता उद्धरणले अर्थको अनर्थ पनि लागेको भेटिन्छ । खास गरेर नेपाली काँग्रेसको आर्थिक सामाजिक समझदारी र विकासको अवधारणाहरु विषयमा विपीका महत्वपूर्ण शिक्षाको उपेक्षा भएको छ । विगत वर्षहरुमा नेपाली काँग्रेसको नीति निर्माताहरुले विदेशी ऋण, निजीकरण र भूमण्डलीकरणको अन्धानुसरण गरे । त्यस्तो गर्दा उनीहरुको बीपी कोइरालाको उद्धरणबाट समेत सहायता लिए । खास गरेर चम्चाले दूध बाँड्न नहुने भन्ने कोइरालाको एउटा कथन साह्रै दुर्भाग्यपूर्ण सिद्ध भयो । यस कथनका भरमा नेपाली काँग्रेसको सरकारलाई विकृत पूँजीवादी नीतिको पृष्ठपोषक बनाइयो । यसै कारणले गर्दा प्रजातान्त्रिक समाजवादको उद्देश्य राख्ने पार्टीले सत्तामा पुग्दा सामाजिक न्यायको पक्षमा एउटै पनि उल्लेखनीय कदम चाल्न सकेन । बीपी कोइरालाको समाजवादी उत्तराधिकारको यहाँभन्दा ठूलो उपहास हुन सक्तैनथ्यो । तर, यस्तै भयो । सामान्यतः मुलुकको सांस्कृतिक बौद्धिक परिवेशले गर्दा र विशेष गरेर राजयसत्ताको प्रतिक्रियावादी संरचनाले गर्दा सजिलै यस्तो हुन सक्यो । तर, मुख्य कारण त नेपाली काँग्रेसको विचारधारा र संगठन नै हो ।
तर, एउटा विश्वसनीय पार्टीका रुपमा नेपाली काँग्रेसको आज पनि कुनै विकल्प छैन । मुख्यतः प्रजातान्त्रिक व्यवस्थापनको अभावमा यो पार्टी टुक्रिएको थियो । तर, प्रजातान्त्रिक व्यवस्थापनको कुरा फेरि आफैमा स्वतन्त्र अस्तित्व राख्ने तथ्य होइन । पार्टीको समग्र राजनीतिक चिन्तनको परिवेशमा मात्र संगठनको सिद्धान्त, स्वरुप र संरचनाको स्वायत्तताले अर्थ राख्दछ । संगठनको प्रश्न निरपेक्ष रुपमा स्वायत्त हुँदैन । पार्टीको संगठन गर्ने भनेको कुरो पार्टीको लक्ष्य, सिद्धान्त, रणनीतिबाट अलग राखेर हेर्न सकिने कुरो होइन । यो यान्त्रिक प्रश्न होइन । यो एक ठोस राजनीतिक सवाल हो । तेस्रो विश्वका मध्यमार्गी राजनीतिक दलहरुले यो कुरो बुझ्न सकेका छैनन् । यसैले यी पार्टी व्यक्तिवाद, परिवारवाद र गिरोहबादको दलदलमा फसेका छन् । २०४६ सालपछि नेपाली काँग्रेस पनि यस्तै रोग व्याधिले गर्दा कलहमुखीसमेत भयो । तर, पार्टी टुक्रिदा पनि यो रोग निर्मूल भएन । यी रोगहरुको उपचार नेपाली काँग्रेसको आजको दायित्व भएको छ ।
बीपी कोइरालाका लेखन तथा भाषणमा पार्टी–निर्माणका सम्बन्धमा स्वतन्त्र निर्देशन पाइँदैन । तर, नियालेर हेर्ने हो भने पार्टी पंक्तिमा हुनुपर्ने सद्भाव, सौहाद्र्र, विमर्शका बारे उहाँको आग्रह यत्रतत्र भेटिन्छ । खास गरेर साथीहरुको नाममा पत्र भनेर लेखिएका दुई लेख यस विषयमा केन्द्रित छन् । तर त्यहाँ पनि पर्याप्त छैन । प्रजातान्त्रिक समाजवादमा विश्वास राख्ने पार्टीसँग आजको मितिसम्म संगठनको स्वायत्त सिद्धान्त देखिँदैन । नेपाली काँग्रेससँग मात्र नभएको होइन । यसो हुँदा नेपाली काँग्रेसका साथीहरुले संगठनको सिद्धान्तमाथि एकाग्र भएर सोच्नुपर्ने देखिन्छ । यस्तो सोच विचारमा कोइराला वा त्यस्तै अन्य नेताको लेखनमा मात्र सीमित रहेर हुँदैन । उहाँ अघिका वा पछिका समाजवादी चिन्तनको पनि अनुशीलन गर्नुपर्छ । समाजवादी आन्दोलनको इतिहासमा लेनिन, रोजा लक्जेम्वर्ग र एन्टोनिओ ग्रामस्कीका रचना यस क्षेत्रमा विशेष शिक्षाप्रद छन् । पार्टी निर्माणको प्रश्नमा चीनको सैद्धान्तिक परम्परा पनि ज्यादै समृद्ध छ । गान्धी लोहियाका हकमा सैद्धान्तिक क्षेत्रमा खास उल्लेखनीय कृति देखिँदैन । क्रमशः









