
–परमानन्द झा–
विजय गच्छदार मधेसी जनाधिकार फोरममा आबद्ध रहँदा अन्यलाई भन्ने गर्नुहुून्थ्यो, तपाईहरु मलाई सहयोग गर्नुस् म यो मुलुकको प्रधानमन्त्री भई देखाइदिन्छु । अब त वहाँ प्रधानमन्त्री बन्ने सामर्थ्य राख्ने राजनीतिक दलमा आबद्ध हुनुहुन्छ । उहाँको आकांक्षा पूरा होस् भन्ने शुभकामना दिन चाहन्छु । नेपालको राजनीतिक पृष्ठभूमिमा काँग्रेस, एमाले र माओवादी केन्द्रका सभापतिहरु मात्र प्रधानमन्त्री बन्न सक्छ । मधेसकेन्द्रित दलहरुबाट कुनै पनि नेता यो देशको कार्यकारिणी हुने सम्भावना कमै देख्छु । केही नेताहरु उपप्रधानमन्त्रीसम्म बन्नु भएको छ । काँग्रेसबाट उपसभापतिसम्म भएका विमलेन्द्र निधिले काँग्रेस पार्टीको १४औं महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो । काँग्रेस राजनीतिक पार्टीको सभापति हुनु भनेको कुनै पनि बेला देशको प्रधानमन्त्री बन्न सक्नु हो । तसर्थ उहाँलाई सभापति बन्न दलका अन्य नेताहरुले सहयोग वा समर्थन दिने छैनन । जुन कुरा पार्टीको महाधिवेशनको निर्वाचनको रिजल्टबाट पनि प्रमाणित भएको छ । अहिलेको अवस्थामा उपेन्द्रजीको जनता समाजवादी दल नै मधेसमा सर्वाधिक समर्थवान राजनीतिक दल हो । कथंकदाचित त्यो दलले परिस्थितिवश प्रधानमन्त्री पाउने अवसर जुटेछ भने सोही दलका संघीय अध्यक्ष बाबुराम भट्टराईको पक्ष बलियो रहन्छ ।
संवैधानिक निकाय लगायत सरकारबाट नियुक्त हुने सरकारी संस्थानका पदाधिकारीमा जुन दल सरकारमा जान्छ उसैको वर्चस्व रहने नै भयो । मधेसीको वर्चस्व रहने अवस्था देखिँदैन । जहाँ जुन ठाउँमा मधेसी देखिन्छ त्यो उसको आफ्नो क्षमता र योग्यताबाट मात्र हो । समग्रमा मधेस खण्डित भएका कारण मधेसीलाई संरक्षणको अभावका कारण भविष्य अन्धकारमय देखिन्छ । तैपनि अन्धकारमा उज्यालो बनेर केही मधेसीले मेहनत गरे निकट भविष्यमै मधेसबाट प्रधानमन्त्री बन्ने सम्भावना म देख्दछु । राष्ट्रपति, उपराष्ट्रपति म स्वयम् मधेसबाट भइसकेको यो समयमा प्रधानमन्त्री कार्यकारी मधेसी होस् मेरो कामना पनि छ । एक मधेसीको नाताले यही जीवनकालमा मधेसी प्रधानमन्त्री बनेको हेर्न पाए मेरो यो मन खुसी हुने थियो र देशको आधी जनसंख्याको इच्छाको सम्मान पनि हुन्थ्यो । यो सम्पूर्ण पुस्तक मधेसबाट उठेको एक बच्चा युवा र जवान हुँदै बृद्ध अवस्थातिर लम्केको कथा हो । यो पुस्तक पढेर हिँड्दै जाँदा कर्मपथमा अगाडि बढ्दै जान सकिन्छ, सफल भइने रहेछ भन्ने सिकेमा म आभारी हुनेछु । समाप्त









