
प्रदीप गिरी
तर, समाजवादी शिक्षा पुस्तकमा मात्र सीमित हुँदैन । गान्धीले भारतीय राष्ट्रिय काँग्रेसको कायाकल्प गरे । कायाकल्पको यो कथा अद्भूत छ । लोहियाले सोसलिष्ट पार्टीको विभाजन गरे । त्यहाँ उनले के पाए के गुमाए, त्यो बिर्सन सकिँदैन ।
त्यसो त राजनीति नै समग्रमा सिद्धान्त र व्यवहारको एकता सफल हुँदा राम्रो हुन्छ । तर, पार्टी निर्माण अझ विशेषतः व्यवहारको कुरो हो । सिद्धान्त चाहिन्छ, तर पार्टी निर्माणमा सिद्धान्त ओझेलमा रहन पनि सक्छ । पार्टी निर्माण मुख्यतः मानव व्यवहारबाट प्रभावित हुन्छ । नेता र कार्यकर्ताको बानीबेहोरा, बोलीचाली, व्यवहार कुशलता र संवेदनशीलताबाट संगठन बन्दछ ।
सामन्ती समाजमा मानिस व्यक्तिवादी हुन्छ । साना साना भूस्वामीले पनि भुरे टाकुरे राजाजस्तो व्यवहार गर्दछन् । कोभन्दा को कम भन्ने दुर्भावना र अहंकार रहन्छ । मार्क्सले किसानहरुको समाजलाई आलुको बोराको संज्ञा दिएका थिए । मुख बाँध्दा सँगै बस्छन् । मुख खोल्नासाथ सब आलु छरिन्छन् । समलक्ष्य समवेदना हुँदैन । यस्तालाई समेत एक सुर उक तालको पार्टी बनाउनु सानो काम होइन । तर, बीपी कोइराला, सुवर्णसमशेर, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय र कृष्णप्रसाद भट्टराईको सुदीर्घ सहयोग र सहकार्यबाट उर्ध्वगामी र उन्नतशील नेपाली काँग्रेस बन्यो । भारतमा जयप्रकाश नारायण, डा लोहिया, अशोक मेहता मिल्न सकेनन् । त्यसैले त्यहाँको सोसलिस्ट आन्दोलन छिन्नभिन्न भयो । बीपी कोइरालाको देहान्तपछि नेपाली काँग्रेसमा पनि विग्रह बढ्यो ।
प्रजातन्त्रको पुनस्थापनापछि यो बिग्रह झन् चर्कियो । २०४८ सालको आमचुनावमा पार्टीले पूर्ण बहुमत ल्यायो । गिरिजाप्रसाद कोइराला नेपाली काँग्रेसको संसदीय दलको नेता हुनुभयो । अब मुलुकले कोल्टे फेर्ला भन्ने सबैको आशा थियो । तर, ६ महिना नबित्दै पार्टी अन्तकलहको दलदलमा भासियो । त्यस अन्तर्कलहको वेदीमा अन्ततः २०४६ सालको संविधानको बली चढ्यो । साधारणतः सबै थरीका काँग्रेसीहरु कुरामा बीपी कोइरालाको सपना साकार पार्ने कुरो गर्दछन् । अनुज गिरिजाप्रसाद कोइराला त अझ बीपी कोइरालाको पारिवारिक राजनीतिक उत्तराधिकारको दावा गर्नुहुन्छ । त्यो स्वाभाविक पनि होला । शेरबहादुर देउवा पनि बीपी कोइरालाद्वारा प्रशिक्षित एवं संरक्षित नेता मानिनुहुन्छ । फेरि यस्तो दुर्दशा किन भयो ? पार्टी किन फुट्यो ? अब पार्टी जोडिएपछि अगाडि कहाँ जाने ? कसरी जाने ?
आज हाम्रो मुलुक एक चौराहमा खडा छ । अब कुन बाटो लिने भन्ने बारेमा इतिहासले पनि सहायता गर्न सक्छ । इतिहासले नै सबथोक बताउँछ भन्ने छैन । तर, राजनीति विज्ञानको एउटा प्रयोगशाला भने इतिहास नै हो । यसैले नेपाली काँग्रेसको इतिहास एकपटक फेरि पल्टाउनुपर्ने भएको छ । इतिहास र जीवनी अलग अलग कुरा हुन् । तर, इतिहासको प्रारम्भिक धारणाका रुपमा इतिहास निर्माताको जीवन र विचारको पुनरावलोकन सर्वथा समुचित छ । त्यस क्रममा बीपी कोइराला, सुवर्णशमशेर गणेशमान सिंह आदिको व्यक्तित्व र विचार विषयक सामग्रीको प्रत्येक संकलन मूल्यवान हुनेछ ।
स्रोत : नौलो लोक सम्मति २००८
समाजवादी चिन्तनको धरातल २
यताका वर्षमा सत्तारुढ नेपाली काँग्रेसले विश्वेश्वरको सपना साकार गर्ने नारा सधै दियो । तर पार्टीले एकाग्रभावले पूँजीवादको बाटो समात्यो । अझ बीपी कोइरालाले भन्नु भएजस्तै भूँइफुट्टावर्गलाई प्रोत्साहन दिइयो । त्यसैले प्रजातन्त्रको पुनर्स्थापनापछि नेपालमा आर्थिक समस्या चर्किदै गयो । अब नेपालले आर्थिक क्रान्ति र विकास गर्नुपर्छ भन्ने अनुभूति धेरै काँग्रेसलाई थियो । गणेशमानजीले प्रजातन्त्रको पुर्नस्थापनापछि तत्काल यस कुराका उपर जोड दिनुभएको थियो । क्रमाशः









