
– प्रा.डा. जयराज आचार्य/ विवेक गौतम –
भिरालो जमिनमा केबुलकारको निर्माणका साथै बीउ, विरुवा, रुखहरु, घाँस, फुलहरु र आकर्षक एवं सजावटी वनस्पति लगाएर वातावरण आकर्षक एवं रमणीय बनाइयो ।
केबुलकारका एकजना कर्मचारी पिटरको कार्य गर्ने शैली सम्झन्छन् र भन्छन्, पिटर एउटा सिगार मुखमा लिएर डाँडाको टुप्पोमा बस्दथे र तलतिर हेर्दथे । उनले त्यहाँको ल्याण्डस्केपलाई आफ्नो कागजमा सिसाकलमले फ्रि ह्याण्ड चित्र बनाउँथे । त्यसबेला अहिलेको जस्तो कम्प्युटरबाट स्केच बनाउने अटोक्याड सप्mटवेयर उपलब्ध थिएनन् ।
त्रिशुली नदीको किनारमा रहेको तलको स्टेशन र मनोरम पहाडहरुबाट मुग्ध हाम्रो बुबाले त्यहाँका पूर्वाधारहरुलाई परम्परासँग जोडन चाहनुहुन्थ्यो । त्यसैले उहाँ पिटरसँग घन्टौ बिताएर संस्कृति, कला र प्रकृतिले उपलब्ध गराएको मनोरम दृश्यलाई कसरी जोड्न सकिन्छ भनेर छलफल गर्नुहुन्थ्यो । राजेश बाबु आफ्नो बुबाको कलाप्रतिको लगावबारे यसरी वर्णन गर्दछन् । उनी अझै भन्छन्, युनेस्कोले सूचीकृत गरेका विश्वसम्पदा स्थलका मन्दिरहरु र शालिकहरुको वास्तुकलाबाट सिक्नको लागि हरेक साता काठमाडौ उपत्यकामा गएर हेरिटेज स्थलहरु हेर्नुहुन्थ्यो । त्यसपछि ललितपुर र भक्तपुरका सिपालु कालीगढहरुलाई केबुलकार निर्माण स्थललाई परम्परागत शैलीमा विकसित गर्न भनेर अह्राउनुहुन्थ्यो । त्यसैले केबुलकार परिसरमा बनाएका भवनहरुको वास्तुकला मल्लयुगीन एवं नेवारी शैलीमा बनाइएको छ ।
लक्ष्मण बाबुको कला एवं संस्कृतिप्रतिको रुचि एवं उत्साह अत्यन्त गहिरो थियो । यसै कारणले केबुलकार परिसरमा निर्माण गरिएका संरचनाहरुमा परम्परागत सुन्दरता भरिएको छ र यी संरक्षणका दृष्टिले उच्चकोटीका छन् । अन्यथा कलात्मक ढोका, छानो वा शालिक बनाउन किन यति ठूलो धनराशी खर्च गर्नुपर्थ्यो ? यो एक किसिमको रणनीति थियो जसमा उनले आफ्नो परमपराप्रतिको मोहका साथै आफ्नो कम्पनीको छुट्टै पहिचान दिन प्रयास गरेका हुन् ।









