
काठमाडौं । यम थापाको निर्देशनमा बनेको फिल्म ‘लालीबजार’को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक गरिएको छ । लोकलयमा आधारित यस गीतमा दीपिका बयम्बु मगर र खेम सेन्चुरीको स्वर रहेको छ भने संगीत गायक सेन्चुरी स्वयंको हो । शब्द रमेश बिजीले लेखेका हुन् । गीतमा मायाको निशानी सुम्पिएको विषयलाई मुख्य रुपमा प्रस्तुत गरिएको छ । प्रदीप लामाको कोरियोग्राफी रहेको गीतको भिडियोमा प्रदीपसहित स्वस्तिमा खड्का र बाल कलाकार समाइरा थापाको आकर्षक नृत्य प्रस्तुति देख्न सकिन्छ । फिल्मका मुख्य कलाकारहरू रवीन्द्रसिंह बानियाँ, मुकुन्द श्रेष्ठ र विशाल देवकोटा पनि भिडियोमा देखिएका छन् । आगामी बैशाख १८ गतेबाट प्रदर्शन हुने यस फिल्ममा अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश बादी, सरस्वती अधिकारी लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।









