
काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै सवारीसाधनमा भाडा समायोजन गर्न माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले पेट्रोलियम पदार्थको प्रत्यक्ष उपभोग गर्ने आम यातायात व्यवसायी र उपभोक्ता वर्गको हितलाई मध्यनजर नगरी साबिकको मूल्यमा एकाएक भारी मूल्यवृद्धि गर्दा देशभर यातायात सेवा सञ्चालन गर्ने यातायात व्यवसायी एवम् यात्रुमा प्रत्यक्ष असर पर्न गएको बताएका छन् । महासङ्घले नेपाल आयल निगमभित्रको आन्तरिक चुहावट र पेट्रोलियम पदार्थको खपतलाई नियन्त्रण गरी वैज्ञानिक विधि अपनाई पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष माग गरेको छ । सार्वजनिक यातायात सञ्चालनमा सवारीसाधनहरू डिजेल/पेट्रोलको इन्धन प्रयोग गरी सञ्चालन हुने हुँँदा पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा प्रत्यक्ष असर सार्वजनिक सवारीसाधन सञ्चालनमा देखिएको महासङ्घले जनाएको छ । महासङ्घले सङ्घीय रुटको भाडा यातायात व्यवस्था विभागबाट र प्रदेश अन्तर्गतको भाडा सातवटै प्रदेश मन्त्रालयबाट यथाशीघ्र समायोजन गर्नसमेत सरकारसँग माग गरेको छ । यसैबीच प्रधानमन्त्री सुशिला कार्कीले काठमाडौं जिल्ला प्रशासन कार्यालयले अपनाएको सेवा प्रवाहको शैलीलाई देशभरका सरकारी निकायका लागि एक नमुना भएको बताएकी छन् । उक्त कार्यालयको स्थलगत अनुगमन र वस्तुस्थिति बुझेपछि सामाजिक सञ्जालमार्फत् उनले प्रशासनमा देखिएको परिवर्तनको प्रशंसा गरेकी हुन् । प्रधानमन्त्री कार्कीले सार्वजनिक सेवामा गरिने साना पहलले नै ठुलो सुधारको मार्गप्रशस्त गर्ने उल्लेख गरेकी छन् । अनुगमनका क्रममा कार्यालयले भित्र्याएको समय तोकेर दिइने टोकन प्रणालीको प्रभावकारितालाई उनले मुख्य उपलब्धिका रूपमा लिएकी छन् । टोकनमा आधारित यो सेवा प्रणालीले सेवाग्राहीको लाइन बस्नुपर्ने झन्झट हटाएको र गुनासोलाई शून्यमा झारेको जानकारी पाउँदा आफूलाई खुसी लागेको उनले बताइन् । सुधारको यो प्रयासका लागि प्रधानमन्त्री कार्कीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईश्वरराज पौडेल र समग्र कार्यालय परिवारलाई धन्यवादसमेत दिएकी छन् । उनले यो नमुनालाई अन्य सरकारी निकायहरूमा पनि विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिइन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ । चैत ३ र ४ गते प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित सांसदरूलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ । महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार नवनियुक्त सांसदहरूलाई संसदीय अभ्यासमा सहजता प्रदान गर्नका निम्ति अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम ललितपुरको ग्वार्कोस्थित एक होटलमा हुनेछ । अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध गरिएको रास्वपाले जनाएको छ । फागुन २१ गतेको निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी १८२ सिट जितेको छ ।









