
काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अहिलेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको जनादेशलाई खेर जान दिन नहुने बताएका छन् । काठमाडौंमा विपुल पोख्रेलद्वारा लिखित पुस्तक सङ्कल्पन विमोचन गर्दै पूर्वराष्ट्रपति यादवले जनादेशलाई खेर जान दिन नहुने उल्लेख गरेका हुन् । रास्वपाले पाएको करिब दुई तिहाइको मतको सदुपयोग हुनुपर्ने बताएका छन् । पूर्वराष्ट्रपति यादवले यसअघिका विभिन्न निर्वाचनमा कुनै एउटा दलले पाएको दुई तिहाइको सही उपयोग हुन नसकेको उल्लेख गरेका छन् । राजनीतिक र राष्ट्रिय कोर्स फरक हुने भएकाले सवैले अहिलेको परिवर्तनलाई आत्मसात गर्दै जनतादेशलाई स्वीकार गर्नुपर्नेमा उहाँको जोड थियो । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन् । पार्टीले आयोजना गरेको नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति अर्यालले देश र जनताको पक्षमा काम गर्न आवश्यक रहेको बताएका छन् । सोही पार्टीका अर्का उपसभापति स्वर्णिम वाग्लेले ४८ प्रतिशत मतका साथ प्राप्त गरेको झन्डै दुई तिहाइ बहुमतको विश्वास जोगाई जनताको भरोसा कायम राख्नुपर्नेमा जोड दिएका छन् । विसं २०१५ सालपछिको यो ठूलो जनादेशलाई शिरोधार्य गर्दै विधायकको भूमिका निर्वाह गर्नुपर्ने भएकाले जनताका गुनासा र मुद्दा उठाउन, आफ्नै सरकारले गरेका पनि गलत कार्यको प्रतिरोध गर्न उपसभापति वाग्लेले आग्रह गरेका छन् । संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण, संसदीय समितिहरूको भूमिका लगायतका विषयबारे अभिमुखीकरण गराउन सो कार्यक्रम आयोजना गरिएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन् । यसैबीच महामन्त्री बुर्लाकोटीले सांसदको शपथपछि बस्ने संसदीय दलको पहिलो बैठकले संसदीय दलको नेता चयन गर्ने बताएका छन् । पार्टीका सांसदलाई आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा पत्रकारसँग कुरा गर्दै उनले यससम्बन्धी जानकारी दिएका हुन् । विशेष परिस्थिति नभएकाले सांसदको शपथपछि मात्र प्रधानमन्त्री चयन प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । यस विषयमा पार्टीभित्र समेत छलफल भइसकेको बुर्लाकोटीले बताएका छन् । रास्वपाले बालेन्द्र शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ । संसदीय दलको नेता चयन भएपछि मात्र प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नेछ । हालैको निर्वाचनमा रास्वपाले बहुमत ल्याएकाले संसदीय दलको नेता चयनपछि राष्ट्रपतिलाई पत्राचार गर्नेछ ।









