
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आशा र अपेक्षासहित जनताले दिएको भोटको महसुस प्रत्येक दिन हुनुपर्ने बताएका छन् । ललितपुरको ग्वार्कोस्थित एक होटलमा पार्टीको अभिमुखीकरण कार्यक्रममा लामिछानेले जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेको बताएका छन् । जुनसुकै धरातलबाट आए पनि चुनावमा विजयी सबैलाई उनले स्वागत गरेका छन् । रास्वपाभित्र सिंगो देशको अनुहार रहेको सभापति लामिछानेले बताएका छन् । यसैबीच नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आगामी चैत ६ गते शुक्रबारका लागि बैठक तय गरिएको हो । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा दिउँसो १ बजे बैठक बस्ने भएको छ । यसैबीच सरकारको कुल सार्वजनिक ऋण २८ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)सँगको तुलनामा मुलुकको सार्वजनिक ऋण ४६.८१ प्रतिशत पुगेको छ । सरकारको प्रमुख आम्दानीको स्रोत राजस्व परिचालन लक्ष्यअनुसार नहुँदा सार्वजनिक ऋणमा भार परेको छ । अर्थमन्त्रालयको माघ मसान्तसम्मको तथ्यांकअनुसार लक्ष्यको करिब ८२ प्रतिशत राजस्व परिचालन भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको माघ २०८२ (मध्य फेब्रुअरी २०२६) सम्मको तथ्यांकअनुसार ऋणको भार बढ्दै गएको छ । कुल ऋणमध्ये बाह्य ऋणको हिस्सा ५२.८१ प्रतिशत (१५ खर्ब ९ अर्ब रुपैयाँ) रहेको छ भने आन्तरिक ऋणको हिस्सा ४७.१९ प्रतिशत (१३ खर्ब ४९ अर्ब रुपैयाँ) रहेको छ । आन्तरिक ऋणतर्फ सबैभन्दा बढी हिस्सा विकास ऋणपत्रको ७५.४५ प्रतिशत रहेको छ । यसैगरी, ट्रेजरी बिलको हिस्सा २२.९५ प्रतिशत, नागरिक बचत पत्रको १.१८ प्रतिशत, वैदेशिक रोजगार बचत पत्रको ०.०४ प्रतिशत र आईएमएफ बन्डको ०.३८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । चालु आर्थिक वर्ष २०८२/८३ को माघसम्म सरकारले कुल १६ अर्ब ३५ करोड २० लाख रुपैयाँ साँवा भुक्तानी गरेको छ । माघसम्म कुल ४० अर्ब १३ करोड ५३ लाख रुपैयाँ ब्याज भुक्तानीमा खर्च भएको छ । समीक्षा अवधिमा सरकारले कुल २५ अर्ब ५४ करोड रुपैयाँ नयाँ ऋण परिचालन गरेको छ । आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले कुल ५ खर्ब ९५ अर्ब रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य राखेकामा माघ मसान्तसम्म करिब ४२.८९ प्रतिशत लक्ष्य प्राप्ति भएको छ । नेपालको बाह्य ऋणमा बहुपक्षीय दातृ निकायहरूको हिस्सा ९०.४८ प्रतिशत (१३ खर्ब ६६ अर्ब रुपैयाँ) रहेको छ, जसमा विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) प्रमुख छन् । समीक्षा अवधिमा द्विपक्षीय ऋण परिचालन १ खर्ब ४३ अर्ब (९.५२ प्रतिशत) रहेको छ । मुद्राका आधारमा हेर्दा, ७२.२७ प्रतिशत ऋण एसडीआर र २०.११ प्रतिशत अमेरिकी डलरमा रहेको छ । आन्तरिक ऋणको स्वामित्व संरचनामा वाणिज्य बैंकहरूको हिस्सा ७३.८३ प्रतिशत रहेको छ, जसले सरकारी ऋणपत्रहरूमा बैंकहरूको ठूलो लगानी रहेको देखाउँछ ।









