
प्रदीप गिरी
२ लाख मोटरसाइकल किन्ने मान्छे आउँछन् भने २० लाख साइकल किन्ने मान्छे हुनुपर्यो । २० लाख साइकल किन्ने मान्छे आउँछ भने २ करोडले चप्पल लगाउन पाउनुपर्छ । २ करोड मानिसले लाउने चप्पल विदेशबाट ल्याउन पाइदैन । ती चप्पल नेपालमा बन्नु पर्छ र सस्तो, एकदम सस्तो बन्नु पर्छ । साइकिलको टायरको जस्तो चप्पल । २ करोड नेपालीलाई चप्पल बनाइदिने हो भने त्यो बनाउने मजदुरले खान पाउँछ । चप्पल उद्योग खोल्नेले त्यसको नाफाबाट सायकल किनोस् । साइकल उद्योग खोल्नेले त्यसको नाफाबाट मोटरसाइकल किन्न सक्छ । मोटर साइकल किन्न सक्छ । मोटर साइकल उद्योगको नाफाबाट गाडी किन्दा फरक पर्दैन । त्यस्तो गाडी किनेकोमा मलाई आपत्ति छैन । अमेरिकामा त्यहाँको राष्ट्रपति जेटमा हिँड्छ, अरबपति जेटमा हिँड्छ भने तलको मानिसले पनि खान पाउँछ । यहाँ के भयो भने विदेशी सहायता काठमाडौंमै चोरे–लुटे, काठमाडौमा नै घर बनाए, गाडी किने । यहाँ तस्करी गरेर भारतमा लगेर पैसा राखे । सारा व्यापारीले त्यही गरिरहेछन् । अब तेस्रो कुरा आयो रेमिटेन्सको कुरा । बाहिर दुःख गरेर पैसा पठाएका छन्, बम्बेको कोठीमा वेश्या भएर पैसा पठाएका छन् । तिनलाई यहाँका हुने खानेहरुले लुटेका छन् । यिनैका समस्याप्रति हाम्रो अर्थशास्त्र जागरुक छ । यो अर्थशास्त्र बेलायतबाट आएको हुनाले, अमेरिकाबाट आएको हुनाले यस्ता अर्थशास्त्रहरुलाई एकातिर धान र गहुँको अन्तर थाहा छैन भने अर्कोतिर यो समस्याको जानकारी पनि छैन । यो समस्या यो समस्या बेलायत, फ्रान्स र अमेरिकामा नभएकाले उनीहरुलाई यसको जानकारी छैन । यो समस्या नेपालमा छ । अन्त थिएन । नेपाली बुद्धिजीवीले, नेपाली लेखकले यहाँका जनतालाई चिनेर, यहाँका जनतालाई बुझेर नेपालको अर्थशास्त्र बनाउनुपर्छ । अब भन्ने हो भने यहाँको योजना यहीका गरिब किसानले बनाउनुपर्छ । विदेशबाट पढेर पिएचडी गरेर आएकाले देशको योजना बनाएमा ती योजनाको कुनै पनि औचित्य हुँदैन । त्यसैले आज नेपालमा कुनै नयाँ काम गर्न चाहने मान्छेले आजसम्मका अर्थशास्त्रका सारा किताबलाई बागमतीमा प्mयाकिदिनुपर्छ । यसको एउटा उपाय छ, नेपालको परिवेशलाई बुझेर नयाँ अर्थशास्त्र बनाउनुपर्छ ।
हाम्रा लागि सबैभन्दा पहिलो तल्लो वर्गलाई क्रयशक्ति दिने, मजदुरलाई क्रयशक्ति दिने, किसानलाई दिने अर्थशास्त्र चाहिएको छ । किसानको क्रय शाक्तिको भरमा बनेका कल कारखाना, खेतीपाती, उद्योग सम्पूर्णमा नाफा खाए हुन्छ । म नाफा खानुको विरुद्ध छैन । अहिले यहाँ कसैले खाने होटल खोल्योर एक हजार मान्छेलाई खाना खुवायो भने प्रत्येकबाट ५ रुपैयाँ नाफा खाए हुन्छ । खाना सस्तै हुछ, प्रतिव्यक्ति नाफा पनि कम नै हुन्छ । यसको सट्टा पाँचतारे होटलमा खाना खाइयो भने थोरै खानामा धेरै नाफा हुन्छ । यहाँ दुईवटा कुरा देखिन्छ । एक नाफा धेरै लिने काम थोरै दिने, जस्तै बैककमा एउटा जुत्ताको मूल्य पाँच हजार पर्छ । व्यापारीले ५ हजारमा ४५ सय रुपैयाँ नाफा गर्छ । अर्को, नाफा कम लिने काम धेरै दिने जस्तै, एउटा टायरको चप्पलको मूल्य १ सय रुपैयाँ पर्छ भने त्यसले २० रुपैयाँ मात्रै नाफा लिन्छ । उत्पादनको तरिकामा बढीभन्दा मान्छेले सामान पाउँछन् तर नाफा कम खान्छन् । प्रतिवस्तु नाफा कम हुन्छ । २ करोड नेपालीलाई चप्पल लगाउन दिइयो भने एउटा चप्पलको मूल्य १ सय पर्यो र नाफा १० रुपैयाँ भयो भने २० करोड नाफा हुन्छ । यसरी पूँजीपतिले २ अर्ब नाफा कमाउँदा आपत्ति मान्नुहुँदैन । तर जसले एउटै मात्र सामान बेचेर करोडौ कमाउनु हुँदैन ।
पूँजीवादीमा के हुन्छ भने कारखानाले थोरै मान्छेको लागि सामान उत्पादन गर्छ, धेरै नाफा कमाउँछ । अर्को पद्धतिमा धेरे मान्छेको लागि धेरै सामान उत्पादन गरी धेरै नाफा कमाउनुलाई समाजवाद भनिन्छ ।









