
काठमाडौ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यको लागि स्थापना भएको कांग्रेस पार्टीभित्र निरंकुशता शुरु भएको बताएका छन । कोइरालाले लोकतन्त्र ईतिहाँसकै कमजोर अवस्थामा पुगेको भन्दै २०३३ सालमा विपिले लिनुभएको राष्ट्रिय एकता र मेलमिलापको नीतिको आवश्यकता आजको दिनमा झनै बढेर गएको बताएका छन् । नेपाली कांग्रेस अब बिपि कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रिय एकता र मेलमिलापकै नीतिबाट अगाडि बढ्नुको बिकल्प नभएको कोइरालाको भनाई थियो । बिराटनगरमा आयोजित कोशी प्रदेशस्तरिय भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले गगन थापासँग कुराकानी गर्दा आफुले राखेका पाँचवटा कुरा स्विकारेको बताएका छन् । गगन थापाले कोइराला निवासमा पुगेर पार्टीका साथीहरूलाई कारबाहीको धम्की दिएपछि बाध्य भएर आफुले राखेका ५ बुँदे सार्वजनिक गरेको बताएका छन् । सहमतिबिना कांग्रेस पार्टी एक कदम पनि अगाडि बढ्न नसक्ने बताएका छन् । कोइरालाले आफुले कुनैपनि हालतमा पार्टी नफुट्ने र फुट्न नदिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । यसैबीच नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्रको आन्तरिक कलह, कार्यशैली र महाधिवेशनको अन्योललाई तत्काल चिर्न नेतृत्वलाई आग्रह गरेका छन् । विराटनगरमा संस्थापनइतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले अनावश्यक नाटक बन्द गरी विवाद समाधानका लागि साहस देखाउन नेतृत्वको ध्यानाकर्षण गराएका हुन् । नेता सिटौलाले महाधिवेशनका नाममा भइरहेको ढिलासुस्ती र आन्तरिक असमझदारीप्रति असन्तुष्टि जनाएका छन् । उनले विगतका नवौँदेखि चौधौँ महाधिवेशनसम्मका नजिरहरूलाई स्मरण गर्दै सोहीअनुसार आगामी महाधिवेशन सम्पन्न गर्न सुझाव दिएका छन् । पार्टी नेतृत्व र पदाधिकारीहरूलाई प्रश्न गर्दै सिटौलाले जे निर्णय गर्ने हो, त्यो समयमै र पारदर्शी ढङ्गले गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीभित्र आफ्नै सहयात्रीहरूमाथि भएको व्यवहारलाई उनले निन्दनीय र अमानवीय भनेका छन् संविधानको आधारभूत संरचना परिवर्तन हुन नसक्ने उल्लेख गर्दै सिटौलाले शासकले जनताको मनमा पारेको भ्रम चिर्ने काम कांग्रेसकै भएको दाबी गरेका छन् । उनले मनदेखि खण्डित भएको कांग्रेसले जनताको भय मेटाउन नसक्ने भन्दै पार्टीलाई एकताबद्ध बनाउन र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर निर्णय लिन नेतृत्वलाई आह्वान गरेका छन् । त्यसैगरी नेकपा एमालेको संविधान संशोधन सुझाव कार्यदलले संविधानका कमजोर र जटिल पक्षको पुनरावलोकन गर्न उपसमिति गठन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको कार्यदलको पहिलो बैठकले संविधान कार्यान्वयनको हालसम्मको अनुभवका आधारमा संविधानका सबल तथा कमजोर पक्ष, कार्यान्वयनका क्रममा देखिएका जटिलता तथा संशोधनका आवश्यकताबारे अध्ययन गरी प्रस्ताव तयार गर्न अग्निप्रसाद खरेलको संयोजकत्वमा उपसमिति गठन गरेको हो । उपसमितिमा रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापा सदस्य रहेका छन् । उपसमितिले सुझाव सङ्कलनको कार्ययोजना र विस्तृत कार्यतालिका आगामी बैठकमा प्रस्तुत गर्ने निर्णय गरिएको छ ।









