
काठमाडौं । पूर्वराष्ट्रपति एवं एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारीले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई निराश नहुन आग्रह गरेकी छन् । बबरमहलमा जारी राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीले गत फागुन २१ गतेको निर्वाचनमा पार्टीले व्यहोरेको हारलाई अस्थायी धक्काको संज्ञा दिँदै कमजोरी सच्याएर नयाँ ऊर्जा र आत्मविश्वासका साथ अघि बढ्नुपर्ने बताइन् । उनले विगतमा पनि कम्युनिष्ट आन्दोलनले विभिन्न चुनौती सामना गरेको स्मरण गर्दै अहिलेको परिस्थितिबाट पाठ सिकेर संगठनलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिइन् । भण्डारीले आगामी स्थानीय तहलगायत निर्वाचनलाई लक्षित गर्दै अहिलेदेखि नै तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरिन् । जनताको विश्वास नै पार्टीको सबैभन्दा ठूलो राजनीतिक पुँजी भएको उल्लेख गर्दै विचार, व्यवहार र कार्यशैली सुधारमार्फत जनताको विश्वास जित्नुपर्ने उनको भनाइ छ । यसैबीच गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आयोजित विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएका छन् । गुरुङ कात्तिक २७ गते साँझ यूएई सरकारको निमन्त्रणामा विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन दुबई प्रस्थान गरेका थिए । कात्तिक ३० देखि मंसिर २ गतेसम्म सञ्चालन भएको सम्मेलनमा विश्वभरका प्रहरी अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा विज्ञहरू सहभागी थिए । सम्मेलनको मुख्य विषय ‘कनेक्टेड फर इम्प्याक्ट : युनाइटिङ ग्लोबल पुलिसिङ टु सेफगार्ड फ्युचर जेनेरेसन्स’ रहेको थियो । सम्मेलनमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, साइबर अपराध तथा डिजिटल ठगी नियन्त्रण, वित्तीय अपराध, लागूऔषध कारोबार, मानव तस्करी, सीमा सुरक्षा, आधुनिक अनुसन्धान प्रविधि र अन्तर्राष्ट्रिय प्रहरी सहकार्य लगायत विषयमा छलफल भएको थियो । भ्रमणका क्रममा गृहमन्त्री गुरुङले यूएईका उपप्रधानमन्त्री तथा गृहमन्त्री शेख सैफ बिन जायद अल नाह्यानसँग भेटवार्ता गरेका थिए । गृहमन्त्रीको सचिवालयका अनुसार बूढीगण्डकी जलविद्युत् आयोजनामा यूएईको सम्भावित लगानीका विषयमा समेत छलफल भएको थियो । भ्रमणका क्रममा गुरुङले यूएईमा रहेका नेपाली श्रमिकका समस्या र उनीहरूमाथि हुने ठगीका विषयलाई पनि चासो दिएका थिए । दुबईमा नेपालीले नै नेपालीलाई ठगी गर्ने गरेको गुनासो आएपछि त्यस्ता व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन उनले नेपाली दूतावास तथा सम्बन्धित अधिकारीलाई निर्देशन दिएका थिए । त्यस्तै, यूएईको जेबेल अली क्षेत्रमा अलपत्र परेका नेपाली श्रमिकलाई उद्धार गरी स्वदेश फर्काउने विषयमा पनि उनले चासो देखाएका थिए । श्रमिकहरूले आफूहरूलाई वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीले बढी रकम असुलेको र सम्झौताअनुसार काम तथा सुविधा नदिएको गुनासो गरेका थिए ।









