
काठमाडौं । म्याग्दी, मालिका गाउँपालिका–६ माथिल्लो दरबाङ बस्ने ५९ वर्षीय बिष्णु निउरेको घरमा जुवातास खेलिरहेको अवस्थामा बिष्णु समेत ५ जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ४० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । धनकुटा, महालक्ष्मी नगरपालिका–४ दमार बस्ने ४८ वर्षीय तेजकुमार श्रेष्ठको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा तेजकुमार समेत २० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८८ हजार ९ सय ७० रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो । यसैबीच १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रौतामाई गाउँपालिका–६ बस्ने १९ वर्षीय सोम बहादुर तामाङलाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोम बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट रौतापोखरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यसैगरी शुभकालिका गाउँपालिका–६ हाउडीस्थित चिसापानी सामुदायिक जंगलबाट एकनाले भरूवा बन्दुक १ थान राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी हाउडीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । यसैबीच दैलेख, डुङ्गेश्वर गाउँपालिका–१ राजिगाउँ बस्ने ५५ वर्षीया कौशिला सुनार आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् । झापा, कनकाई नगरपालिका–६ मन्सापुरस्थित सडक छेउमा सोही ठाउँ बस्ने ५० वर्षीय याम बहादुर लिम्बु मृत अवस्थामा फेला परेका छन् ।









