
काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश गोकर्ण डाँगीको नाम अनुमोदन गरेको हो । न्याय परिषद्ले गत असोज २० गते सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि उनीहरुको नाम सिफारिस गरेको थियो । समितिले प्रस्तावित चारै जना न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया यही कात्तिक १९ गतेदेखि सुरु गरेको थियो । समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार प्रस्तावित न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका थिए । न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । यसैबीच नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका नेता डा. शशांक कोइरालाले गगनकुमार थापालाई जति गाली गर्यो, त्यति नै उनको महत्व बढ्ने बताएका छन् । देउवा समूहको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा कोइरालाले थापाको विषयमा धेरै चर्चा नगर्न देउवा समूहका नेताहरूलाई आग्रह गरेका हुन् । गगन थापालाई लक्षित गर्दै उनले हरेक कार्यक्रममा नाम उच्चारण गर्न आवश्यक नरहेको बताएका छन् । त्यसैगरी मिडियामाथि नियन्त्रण र दबाब दिने प्रयासको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । युवाहरूको समूहले कालो पोसाक र ब्यानरसहित प्रदर्शन गर्दै प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाएका छन् । पछिल्लो समय सरकारले सञ्चारमाध्यममाथि नियन्त्रण र दबाब सिर्जना गर्न खोजेको भन्दै विभिन्न क्षेत्रबाट सरकारको आलोचना हुँदै आएको छ ।









