
काठमाडौं । देवदह नगरपालिका–७ हेलेटोल बस्ने ३८ वर्षीय नविन गुरूङको करेन्ट लागेर गए राति मृत्यु भएको छ । सोही नगरपालिका–७ नयाँ टोलस्थित कुलोमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको क्रिमसन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । यसैबीच ओखलढुंगा, सुनकोशी गाउँपालिका–५ ओख्रे बस्ने नारायण बहादुर तामाङको घरमा गए राति आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । इलाम, सूर्योदय नगरपालिका–३ जिल गाउँ बस्ने ६३ वर्षीय सन्तु लाल तामाङको घरमा गए राति लागेको आगो फैलिएर छिमेकी पासाङ तामाङले आफ्नो घर अगाडि पार्किङ गरी राखेको प्र.१–०१–००२ च १३९३ नम्बरको गाडीमा समेत आगलागी हुँदा करिब ९० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । मोरङ, सुनवर्षी नगरपालिका–७ बरडंगा लक्ष्मीटोल बस्ने लाल चन्द शर्माको गोठ र भान्सा घरमा बिहान आगलागी हुँदा करिब ७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । तेह्रथुम, मेन्छयायेम गाउँपालिका–६ निमलेखु बस्ने देबेन्द्र बिष्टको बाख्रा खोरमा दिउँसो आगलागी हुँदा करिब ६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।









