
काठमाडौं । सहिदभूमि गाउँपालिका–१ चिहानडाँडास्थित त्रिवेणी सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १ थान दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी त्रिवेणीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यसैबीच विराटनगर महानगरपालिका–३ बाट अवैध लागूऔषध गाँजा करिब ३ सय ९८ किलोग्राम राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीलाई देख्नासाथ इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को.१ च ७३९९ नम्बरको स्कार्पियो चालक भागी फरार भएपश्चात स्कार्पियो जाँच गर्दा १३ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी प्रहरीले बरामद गरेको हो । साथै प्रहरीले हाल फरार स्कार्पियो चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । यसैबीच कालिकामाई गाउँपालिका–१ मुडली बस्ने ७० वर्षीय सुसन गिरीको गोठ घरमा गए राति आगलागी हुँदा करिब ४ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।









