
– प्रा.डा. जयराज आचार्य/ विवेक गौतम –
रिसोर्टको संक्षिप्त विवरण र भावी योजना :
रिसोर्ट मनकामना केबुलकार हाताभित्रै रहेको करिब ९ रोपनी जग्गामा बन्दैछ । यो केबुलकार स्टेशनको पश्चिमपट्टि पर्दछ । आधुनिक र स्थानीय शैलीबाट डिजाइन गरिएको यो रिसोर्टमा ४० सुविधा सम्पन्न कोठा, हेल्थ क्लब, रेष्टुरेन्ट र सभा हलको साथै स्वीमिङ पुलको समेत सुविधा छ । मनकामना मन्दिर परिसर करिब ५/७ मिनेटको पैदल यात्रामा रिसोर्टबाट पुग्न सकिन्छ ।
हालसम्म सुविधा सम्पन्न होटल रोज्ने यात्रुहरु मनकामना जाँदा चितवनको कुरीनटारस्थित होटलमा बसी भोलिपल्ट बिहान मनकामना जाने प्रचलन रहेको छ । मनकामनामै यस्तो सुविधा सम्पन्न होटल भएको भए यात्रुहरुको रोजाई मनकामनामै बस्ने हुन्थ्यो । रमणीय दृश्य, शीतल हावापानी र मन्दिर परिसर नजिक हुनु नै यसका कारणहरु हुन् । मनकामनामा स्तरीय होटलको कमी हुनाले चितवन कुरीनटारमा ४/५ होटलहरु खुलिसकेका छन् ।
मैले आँकडा देखाएर नै सार्वजनिक सुनुवाइमा भनेको थिएँ कि यस्तो ५/७ वटा अरु स्तरीय होटल खोलेमा प्रतिस्पर्धा नहुने बरु मनकामना र यस वरपरका क्षेत्रलाई नै फाइदा हुनेछ । यसको फाइदा अन्य यसै क्षेत्रका सबैले प्रत्यक्ष रुपमा लिन सक्नेछन् । कुरीनटारमा बस्ने यात्रुहरु मनकामनामा नै बस्नेछन् । भनेर राजेश बाबु भन्छन् ।
उनको भनाइमा हाल केबुलकारबाट सालको ११ लाख बढी यात्रु जान्छन् । पैदल र गाडी गरी करिब २ लाख यात्रु जान्छन् । हालको मनकामना क्षेत्रको होटल क्षमता अनुसार ७० प्रतिशतमा चलेको मान्ने हो भने पनि सालको करिब ५ लाख मान्छे बस्न सक्छन् जबकि तुलनात्मक हिसाबले हेर्ने हो भने मनकामनामा अहिले १३ लाख मान्छे जान्छन् । तसर्थ अझै पनि ८ लाखलाई बासस्थान दिनु पर्ने हो भने हालको क्षमताले भ्याउँदैन । हाम्रोमा ४० कोठाको हिसाब गर्दा जम्मा केबुलकारको कुल यात्रु संख्याको २/२.५ प्रतिशत ग्राहक भए पुग्छ तर माग अझै उच्च रहन्छ । क्रमशः









