
काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण देशभर निरन्तर वर्षा भएपछि नेपाली फिल्मको प्रदर्शनदेखि छायांकनसम्म प्रभावित भएका छन् । यसबाट पोखरामा छायांकन भइरहेको फिल्म ‘शुभ विवाह’को तीन दिनका लागि छायांकन स्थगित गरिएको छ । निर्माता कम्पनी प्रियदर्शन फिल्म्सकी प्रमुख सुप्रिया कटुवाल (थापा)ले एक विज्ञप्ति जारी गर्दै वर्षाका कारण उत्पन्न प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै असोज ९ गतेदेखि ११ गतेसम्म छायांकन स्थगित गरिएको जनाएकी छन् । कलाकार तथा प्राविधिक टोलीको सुरक्षा र सहजतालाई प्राथमिकतामा राखेर यो निर्णय लिइएको विज्ञप्तिमा उल्लेख छ । ४५ दिनको सेड्युलसहित सुरु भएको फिल्मको छायांकन अहिले अन्तिम चरणमा पुगेको छ । फिल्मको गीतबाहेक सबै दृश्यको छायांकन पूरा भइसकेको निर्देशक सुदर्शन थापाले जानकारी दिएका छन् । उनका अनुसार पोखराको लेकसाइडमा १० दिने सेड्युलसहित सेट लगाएर गीतको छायांकन भइरहेको थियो । तर, वर्षाका कारण छायांकन रोक्नु परेको उनले बताएका छन् ।









