
काठमाडौं । उच्च अदालत पाटनको आदेशमा फिल्म ‘लालीबजार’को प्रदर्शन रोकिएपछि धेरैलाई लागेको थियो– अब फिल्मलाई व्यावसायिक सफलता हासिल गर्न गाह्रो पर्छ । तर, अदालतले प्रदर्शनको बाटो खुला गरेपछि वैशाख २५ गतेबाट हलमा लागेको यो फिल्मले ‘वर्ड अफ माउथ’को बलमा देशभर उत्साहजनक व्यापार गरिरहेको छ । फिल्मले पहिलो साता मात्र करिब साढे २ करोड कमाएको छ । दोस्रो साता फिल्मको व्यापार अझ आक्रामक हुने अनुमान गरिएको छ । दोस्रो साता फिल्मको शोमा समेत भारी वृद्धि देखिएको छ । यो फिल्म बादी समुदायका आमा–छोरीको कथामा आधारित छ । यसैले यो समुदाय फिल्मलाई लिएर दुई कित्तामा बाँडिएको देखिन्छ । एकथरी फिल्मको विरोध गर्दै सडकमा आन्दोलित छन् भने अर्काथरी प्रशंसाको पुल बाँधिरहेका छन् । केही दिनअघि सुर्खेतको एक हलमा डेढ सयभन्दा बढी बादी समुदायका दर्शकले फिल्म हेरेपछि निर्माण टिमलाई धन्यवाद दिएका थिए । फिल्मको टिम एक सातादेखि दर्शकसँग भेट गर्न काठमाडौंसहित मोफसलका हलहरूमा समेत पुगिरहेको छ ।









