
– प्रा.डा. जयराज आचार्य/ विवेक गौतम –
उनले यस परियोजनामा ठूलै धनराशि खर्च गरिसकेका थिए । यस्तो परिस्थिति देखेर परिवारका सदस्यहरु चिन्तित हुनथाले । उनीहरुको चित्त बुझाउन उनी भन्थे, यो परियोजना अन्य परियोजना जस्तो हैन, यो निकै ठूलो काम हो, समय प्रशस्त लिन्छ र सम्पन्न भएपछि पुस्तौसम्मलाई प्रतिफल दिइरहन्छ । उनलाई राम्रोसँग थाहा थियो जलविद्युत भनेको पुनर्नवीकरणीय ऊर्जा हो र यसको नेपालमा प्रचुर सम्भावना छ । हिमालबाट निस्केका सयौ नदीनालाहरु बगेर मधेशको मैदान हुँदै भारतको समथल भूभागमा पुग्दछन् । त्यसकारण उनले जलविद्युत क्षेत्रको लगानीले भविष्य राम्रो हुने सोचेका थिए । यसले देशको विकासमा टेवा दिन्छ र अरबौको आयात गरिने पेट्रोलियम पदार्थलाई विस्थापित गर्नसक्छ । उनी आफू एक्लैभन्दा पनि सामूहिक रुपमा यसमा लाग्नुपर्दछ भनेर सोच्दथे । बिजुली भारत र अन्य देशलाई बिक्री गरेर विदेशी मुद्रा कमाउन सकिन्छ भन्ने उनको सोच अहिले आएर केही हदसम्म लागू भएको छ र यो बढ्दै जाने पक्का छ ।
प्रारम्भिक चरणका सबै कार्यहरु सुसम्पन्न भएतापनि परियोजनालाई वित्तीय आवश्यकता परिपूर्ति गर्नु चुनौतीपूर्ण थियो । माथिल्लो मर्स्याङदी ए परियोजना ठूलो पूँजी आवश्यक हुन्थ्यो । एउटै बैकले यसमा लगानी गर्न लगानीको सीमाले बाँध्दथ्यो । उनले नीतिनिर्माता एवं मन्त्रीहरुसँग जलविद्युत जस्ता राष्ट्रिय गौरवका परियोजनामा यस्तो सीमा लागू गर्न हुँदैन भनेर तीन वर्षसम्म वकालत गरिरहे । उनले सम्बन्धित अधिकारीहरुलाई यस्तो सीमा हटाइए ठूलो परियोजनाहरु आफ्नै आन्तरिक पूँजीबाट नै निर्माण गर्न सकिन्छ भनेर भनिरहे ।
उनका परिवारका सदस्यहरु भने अनिश्चिततामा रुमलिरहेको परियोजनामा उनी मरिहत्ते गरेर लागिरहेको देखेर बढी नै चिन्तित देखिन्थे । सबै जना प्रतीक्षा गर्दा गर्दा हैरान भएका थिए तापनि उनी खर्च गरिरहेका थिए, जमिन खरिद गर्दैथिए र स्थानीयबासीको माग पूरा गर्न सडक र अन्य पूर्वाधार निर्माण गर्दैथिए ।









