
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बुद्धि अकेला बढुवा हुनुभएको छ । उहाँ हाल बैंकको नायब महाप्रबन्धक पदमा कार्यरत हुनुहुन्थ्यो । बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव सँगाल्नुभएका अकेलाले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा आफ्नो बैंकिङ करिअर सुरु गर्नुभएको थियो । उहाँ सन् २००६ देखि ग्लोबल आइएमई बैंकमा निरन्तर आबद्ध हुनुहुन्छ । आफ्नो लामो बैंकिङ यात्राका क्रममा उहाँले एकीकृत जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, शाखा सञ्चालन, कर्जा प्रशासन तथा आन्तरिक लेखापरीक्षण जस्ता प्रमुख विभागहरूमा कुशलतापूर्वक जिम्मेवारी सम्हालिसक्नुभएको छ । हाल उहाँ बैंकको प्रमुख जोखिम अधिकृत (सीआरओ) को जिम्मेवारीमा कार्यरत हुनुहुन्थ्यो । यसका साथै, अकेला बैंकको सहायक कम्पनी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षको भूमिकासमेत सम्हाल्दै आउनुभएको छ । उहाँले पोखरा विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) उपाधि हासिल गर्नुभएको छ । अकेलाको लामो अनुभव, जोखिम व्यवस्थापन तथा समग्र कार्यसञ्चालन दक्षताले आगामी दिनमा बैंकको सेवा प्रवाहलाई थप प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपचन्द्र रेग्मी बढुवा हुनुभएको छ । गत मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकको निर्णयानुसार उहाँलाई उक्त पदमा बढुवा गरिएको हो । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत हुनुहुन्थ्यो । सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिङ करिअर सुरु गर्नुभएका रेग्मी सन् २००९ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध हुनुहुन्छ । उहाँले बैंकको प्रमुख वित्तीय अधिकृत (सीएफओ), प्रमुख मानव संसाधन अधिकृत (सीएचआरओ), प्रमुख कर्जा अधिकृत (सीएलओ) तथा ट्रेड फाइनान्स प्रमुखको जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँ बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्ष समेत रहनुभएको छ । रेग्मीले थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) तथा डेनमार्कको कोपेनहेगन बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबीए) उपाधि हासिल गर्नुभएको छ । आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ ।









