
– प्रा.डा. जयराज आचार्य/ विवेक गौतम –
यही हो हाम्रो दूरगामी लक्ष्य, जुन बुबाको परिकल्पना थियो र हामी साकार पार्छौ । राजेश बाबुले भावुक हुँदै भने ।
१२. अष्ट्रियासँगको सम्बन्ध :
लक्ष्मण बाबुले अष्ट्रियन प्रविधि सर्वप्रथम नेपालमा भित्र्याए । त्यसपछि उनी अष्ट्रिया र नेपाल, अष्ट्रियन र नेपालीलाई जोड्न सफल भए । अष्ट्रियन सरकारले लक्ष्मण बाबुलाई नेपालका लागि अष्ट्रियाको महावाणिज्यदूत नियुक्त गर्यो ।
एउटा पहाडी एवं भूपरिवेष्टित मुलुक अष्ट्रिया ८३,८७९ वर्ग किलोमिटर क्षेत्रफल भएको यूरोपको सानो देश हो । वि.सं. २०१६ साल भदौमा नेपाल र अष्ट्रियाबीच कूटनीतिक सम्बन्ध स्थापना भयो । तत्पश्चात् दुवै देशका उच्चस्तरीय नेताहरुले एक अर्काको देशमा औपचारिक एवं अनौपचारिक भ्रमण गरेका छन् । उदाहरणका लागि वि.सं. २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मावन अधिकार सम्मेलनको सन्दर्भमा अष्ट्रियाको भ्रमण गरे । त्यस्तै राजा वीरेन्द्रले दुई पटक वि.सं. २०४३ र २०५७ साल अनौपचारिक भ्रमण गरे । संयुक्त राष्ट्र संघका महासचिव कुर्ट वाल्डहाइमले वि.सं. २०४६ सालमा नेपालको भ्रमण गरे, जो पछि गएर अष्ट्रियाका चान्सलर भए । मित्रताको चिनोको रुपमा नेपालले अष्ट्रियालाई उक जोडी गैडा उपहार दिएको छ ।
अष्ट्रियाले पाटन म्युनियमको पुननिर्माण, जलविद्युतको विकास, खानेपानी, पर्यटन एवं संस्कृतिको संरक्षणका क्षेत्रमा सहयोग गरेको छ । नेपालको अष्ट्रियासँगको व्यापार नगन्य छ, नेपालले कागज, हस्तकलाका सामानहरु निर्यात गर्दछ भने अष्ट्रियाबाट पेय पदार्थ, खाद्यान्न सामग्रीहरु, मेशिनहरु र कपडा आयात गर्दछ ।
मनकामनाको केबुलकार प्रणाली अष्ट्रियाली प्रविधि हो । यसलाई नेपालमा सर्वप्रथम लक्ष्मण बाबुले अपनाए । कम ऊर्जामा चल्ने यो प्रविधि नेपालको भू–भागमा हुने भीरपाखा, डाँडाकाँडा र उच्च पहाडमा अति उपयुक्त हुन्छ । यो केबुलकार सफलतापूर्वक सञ्चालनमा आएकाले लक्ष्मण बाबुले ठूलो ख्याति पनि कमाए ।









