
प्रदीप गिरी
जीवनको उत्तरार्धमा बीपी कोइरालाले मोदिआइन भन्ने बेग्लै किसिमको उपन्यास लेख्नु भयो । तर त्यस सानो पुस्तकको सन्देश महान् छ । मानिस पहिले असल बन्नु पर्छ । महान् शक्तिशाली मात्र बन्ने ईच्छा राम्रो होइन भनेर त्यहाँ भनिएको छ । बीपी कोइरालाको मनोविज्ञानको राम्रो परिचय यस वक्तव्यमा पाइन्छ । तर कदाचित राजनीतिज्ञले महान् हुन पनि पहिले असल बन्नु पर्छ । लिकन, गान्धी र मण्डेला महान् राजनीतिज्ञ अवश्य भए । तर मूलतः उनीहरु असल मानिस थिए भन्ने बिर्सन सकिन्न । लिंकनको गृहयुद्धताकाका भाषण, पत्र र क्रियाकलापले यस कुराको पुष्टि गरेको छ । नेल्सन मण्डेलाले गोरासाग गरेको व्यवहारमा यो प्रकट भयो । अझ गान्धीको त कुरै नगरौ । गान्धीका निमित्त राजनीति सत्य र अहिंसाको प्रयोग मात्र थियो । बीपी कोइरालामा पनि यस्तै गुण देखेर सबै नेपालीले महामानवको संज्ञा दिएका हुन कि ? किशुनजी सन्त कहलाउनु भयो । उहाँहरुले यी दुवै उपाधि राजनीतिक कारणले मात्र पक्कै पाउनु भएको होइन ।
यसरी राजनीतिमा सफलताको अनुसरण गर्दा समेत पूर्ण र असल मानिसको सिद्धान्त प्रतिपाद्य देखिन्छन् । सामान्यतः राजनीतिज्ञले पनि सिद्धान्तका सहायताले मात्र मुलुकलाई अगाडि बढाउन सक्छन् । त्यसैले सर्वप्रथमतः सिद्धान्तलाई प्रमुखता धर्म र गूडतरका रुपमा आत्मा पनि भनिएका छन् । मानिस धर्म, सत्य वा आत्मका निमित्त पृथ्वी छोड्न अर्थात् मर्न पनि तैयार रहनु पर्छ भन्ने नीतिवाक्य छ । यसपछि देश र समाज महत्वपूर्ण हुन्छ । यसपछि पार्टीको स्थान आउँछ । पार्टी पछि मात्र आप्mनो व्यक्तित्व र स्वार्थलाई परे हेर्नुपर्छ ।
कुनै पनि राजनेताले देशभन्दा पार्टी र पार्टीभन्दा आफूलाई महत्व दिने संस्कार राख्नु हुँदैन । अचेल नेपालमा यो संस्कार प्रबल छ । पार्टीका नेताहरु पार्टीलाई होइन आफूलाई केन्द्रमा राखेर सरकार बनाउने र भत्काउने खेल खेल्दैछन् । यसै खेलमा देश सरकारविहीन अवस्थामा लटुकिएको छ । हिजोको नेपाली काँग्रेसको सरकारको पतनका समेत किचित कथा व्यथा छादैछन् । महाधिवेशनको संघारमा त्यस्ता कथा व्यथाको सम्झना खेर जाने छैन । सन्देश स्पष्ट छ, पार्टी र मुलुकलाई पार लगाउन पनि हामीलाई केही स्पष्ट मूल्य र मान्यताको निर्वाह गरेर हिड्ने नेतृत्व चाहिएको छ । त्यो नेतृत्व पहिले मानिसका रुपमा असल, उदार र सिद्धान्तनिष्ठ हुनुपर्छ । अनि मात्र त्यस नेतृत्वले ठूलो आकांक्षा राखोस् । नेतृत्वमा चाहिने गुणका धेरै व्याख्या छन् । बीपी कोइरालासँग समाजवादी दर्शन र जीवन दृष्टि थियो । भावी नेपालको आकर्षक तस्वीर थियो । प्रत्येक नेतासँग यस गुणको अपेक्षा राख्न सकिन्न । किशुनजीको सन्तवत त्यागमय जीवन पनि सबैका निमित्त सम्भव छैन । तर अरु केही नभए पनि नेतामा एउटा गुण हुनैपर्छ – उसले असल मानिस हुनै पर्छ । उसले म को हुँ मेरो जीवनको लक्ष्य के हो ? भन्ने प्रश्न गरेको होस् । त्यसको उत्तर खोजेको होस् । यसको निमित्त त्यस नेतामा थोरै भए पनि अध्यात्मिक जिज्ञासा रहनुपर्छ । निम्नतर एषणले उसलाई जित्नु हुँदैन । बीपी कोइरालाको व्यक्तित्वको मनोविज्ञान यस्तै थियो । कोइरालाका प्रकाशित र अझै अप्रकाशित रहेका थुप्रा डायरीबाट यही देखिन्छ । कथा साहित्यमा यही भेटिन्छ । उहाँको कला, संगीत र अध्यात्म विषयक प्रश्नबाट यही बुझिन्छ । कोइरालाको अध्यात्म ईश्वरमुखी थिएन । तर ईश्वर नभई अध्यात्म हुँदैन भन्ने होइन । गौतम बुद्ध स्वयंलाई ईश्वरमा विश्वास थिएन । मार्क्स, फ्रायड, लोहिया, जयप्रकाश नारायाण्, पुष्पलाल र विश्वेश्वरसमेत अध्यात्मको यस्तो बौद्ध परिभाषा भित्र पर्छन् । हाम्रा आधुनिक मनोबेत्ताले सशर्ष यसमा सही थाप्ने छन् ।
प्रश्न छ, हाम्रा नेपालको नेताहरु यस कसीमा जाँचिन तैयार छन् ? छैनन् भने, आजको बीपी जयन्ती एक औपचारिकतामा मात्र सीमित रहनेछ । समाप्त









