
– प्रा.डा. जयराज आचार्य/ विवेक गौतम –
मनकामना र आसपासका क्षेत्रमा धेरै सम्भावना छन् । अब मनकामना क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय दृष्टिकोणले समेत प्रख्यात गराउनु हाम्रो उद्देश्य हो र रिसोर्टले यस उद्देश्यलाई साकार पार्न र बुबाको इच्छालाई समेत साकार पार्न मदत गर्छ । थप्छन् राजेश बाबु ।
मनकामना क्षेत्र मगर जातिको बाहुल्य क्षेत्र हो । यस जातिको संस्कृति, परम्परालाई प्रचार गराउन समेत सकिन्छ, चितवनमा थारु समुदायकै जस्तै । मनकामनामा वक्रेश्वर महादेवको पीठ छ र यहाँ दर्शन गर्नाले बालबच्चाको ढिलो बोली फुट्ने, भकभकाउने जस्ता समस्या निराकरण हुने विश्वास छ । त्यहाँका पुजारीका अनुसार सतीदेवी स्वर्गीय भएपछि महादेव बहुलाएर उनको पार्थिव शरीर बोकेर हिँड्दा त्यही स्थानमा सतीदेवीको मुख र बंगाराको भाग खसेको कारणले बक्रेश्वर महादेवको स्थापना भएको हो । अलि माथि पहाड चढेपछि मनकामना माताका प्रथम पुजारी एवं भक्त लखन थापाले गुफामा पसी समाधि लिएका थिए भनिएको छ र सो गुफा अझै पनि देखिन्छ । सो गुफा भएको पहाडको टुप्पोबाट गोरखा बजार र उत्तरी भेगका हिमालहरु प्रष्ट देखिन्छन् । यी कुराहरु धेरैलाई थाहा छैन । साथै मनकामना क्षेत्रको सुन्तला देशभरमै प्रख्यात छ । सुन्तला पाक्ने सिजनमा मनकामनामा सुन्तलाबारी भ्रमण गराई कृषकहरुको आँगनमा नै ग्राहक लैजान पनि सकिन्छ ।
त्यहाँ साहसिक पर्यटन अन्तर्गत बन्जी जम्पिङ, जीप लाइनर आदि जस्ता धेरै खेलको सम्भावना पनि रहेको छ र यस्ता खेलको समेत विकास गर्नुपर्छ । त्यही हाइकिङ, ट्रेकिङ, माउन्टेन बाइक आदिको समेत सम्भावना रहेको छ । यस्ता क्रियाकलापहरुको विकास गर्नुपर्दछ । साथै होम स्टेहरुको पनि प्रचुर सम्भावना छ र नजिकैको बेतनी भन्ने गाउँमा शुरु गरिसकेको पनि छ । अन्य गाउँमा समेत यस्तो विकास गर्न सकिन्छ । भन्ने राजेश बाबुको भनाइ छ ।
यस्ता दीर्घकालीन सोचका काम हुन जाँदा मनकामना र आसपासका क्षेत्रहरुको राम्रो विकास हुने र अहिले जस्तो एक राते गन्तव्य नभई दुई तीन दिन बस्न लायकको ठाउँ हुन सक्छ ।









