
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ बस्ने लमजुङ दोर्दी गाउँपालिका–८ घर भएका ४५ वर्षीय खर्वा तामाङ र काठमाडौं तारकेश्वर नगरपालिका–६ बस्ने धादिङ नेत्रावती डबजोङ गाउँपालिका–५ घर भएका ३१ वर्षीय हरि तिमिल्सिना भन्ने ईश्वर खतिवडा रहेका छन् । पक्राउ मध्ये खर्वाले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ र ईश्वरले स्लोभेनिया र माल्दिभ्स पठाइदिन्छु भन्दै २५ जना पीडितहरूबाट ८५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले खर्वालाई काठमाडौं सिनामंगलबाट र ईश्वरलाई काठमाडौं महानगरपालिका–२६ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।









