
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले पछिल्लो समय देखिएको ग्यास अभावको समस्या समाधान हुँदै गएको भन्दै उपभोक्तालाई आवश्यकता भन्दा बढी सिलिन्डर खरिद गरी सञ्चय नगर्न आग्रह गरेको छ । संघका अनुसार नेपाल आयल निगमको विशेष पहलमा भारतका विभिन्न रिफाइनरीबाट एलपी ग्यासको आयात करिब १५ प्रतिशतले बढेको छ । आयात सहज भइरहेकाले ग्यास उद्योगहरूले सिलिन्डर रिफिलिङ तथा बजारमा वितरणको काम पनि निरन्तर गरिरहेको संघले जनाएको छ । ग्यास अभाव हुने आशंकामा उपभोक्ताले अतिरिक्त सिलिन्डर खरिद गरी जगेडा राख्दा बजारमा कृत्रिम अभाव सिर्जना भएको संघको भनाइ छ । संघले उपभोक्तालाई आवश्यकता भन्दा बढी ग्यास खरिद नगर्न आग्रह गरेको छ । अतिरिक्त सिलिन्डर खरिद गर्ने क्रम रोकिएमा हाल देखिएको ग्यास अभावको समस्या तत्काल समाधान हुने संघको दाबी छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । एक विज्ञप्ति जारी गर्दै रास्वपाका सहमहामन्त्री असिम शाहले जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिएका हुन् । कार्यक्रमअन्तर्गत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक तथा पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नेछन् । कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा साँझ ५ बजेदेखि ६ बजेसम्म मन्त्रीहरूले आम नागरिकका गुनासा, समस्या, अपेक्षा तथा सुझाव प्रत्यक्ष रूपमा सुन्नेछन् । यसबाट नागरिकका वास्तविक समस्या र आवाजलाई राज्यको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म पुर्याउने अपेक्षा रास्वपाले गरेको छ । त्यसपछि साँझ ६ बजेबाट दोस्रो चरणअन्तर्गत ‘नेतृत्व संवाद’ हुनेछ । उक्त चरणमा मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्य तथा प्रतिनिधि सभा सदस्यहरूबीच संयुक्त बैठक बस्नेछ । नागरिकबाट प्राप्त सुझावका साथै समसामयिक, बहुआयामिक तथा नीतिगत विषयमा बैठकमा छलफल गरिनेछ । रास्वपाका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नागरिक, सरकार, व्यवस्थापिका र पार्टी संगठनबीच समन्वयलाई प्रभावकारी बनाउँदै नागरिकका मुद्दा सम्बोधन गर्न साझा रणनीति निर्माण गर्नु हो । त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु नै वर्तमान समयको सबैभन्दा ठूलो उपलब्धि हुने बताएका छन् । ललितपुरमा आयोजित नेपाल सुशासन सम्मेलन कार्यक्रममा मुलुकको वर्तमान अवस्था र सुशासनका सम्बन्धमा आफ्नो धारणा राख्दै ढकालले देश एकै पटक समृद्ध नहुने र सुशासन पनि रातारात नआउने जिकिर गरेका छन् । उनले अहिलेको आवश्यकता एकअर्कालाई दोषारोपण गर्नुभन्दा पनि नागरिकमा आशा र विश्वास जगाउने खालका बहस पैरवी गर्नु रहेको बताएका छन् । सांसद ढकालले विगतमा आफूहरूले उठाएका प्रश्न र अहिले जिम्मेवारीमा पुग्दा भोग्नुपरेका व्यवहारिक कठिनाइलाई स्वीकार गर्दै सकारात्मक परिवर्तनका लागि सबैको सामूहिक प्रयास र विश्वास आवश्यक रहेकोमा जोड दिएका छन् ।









