
काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी शेखर गोल्छासँग एक करोड धरौटी माग गरेको छ । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र न्यायाधीशहरू हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले व्यवसायी गोल्छासँग एक करोड धरौटीमा छोड्न आदेश दिएको हो । अदालतले थुनछेक बहसमा उनीसँग धरौटी माग गरेको हो । धितोपत्रसम्बन्धी कसूर गरेको उनीमाथि आरोप छ । सम्पत्ति शुद्धीकरण विभागले गोल्छाविरुद्ध २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँँ बिगो माग गरेर मुद्दा दायर गरेको थियो । यसैबीच नेपाली कांग्रेसले सरकारका गतिविधिका कारण नागरिकमा राज्यप्रतिको विश्वास कमजोर हुँदै गएको र त्यसले समाजमा निराशा बढाएको निष्कर्ष निकालेको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकपछि प्रवक्ता देवराज चालीसेले जारी गरेको विज्ञप्तिमा सरकारले पटक–पटक सहमति गर्ने तर त्यसको प्रभावकारी कार्यान्वयनमा तत्परता नदेखाउने प्रवृत्ति बढेको उल्लेख गरिएको छ । कांग्रेसले सरकारसँग सहमति गर्ने र त्यसलाई कार्यान्वयन नगर्ने प्रवृत्ति चिन्ताको विषय बनेको जनाएको छ । यस्तो अवस्थाले सरकारप्रतिको नागरिकको विश्वासमा असर पार्दै राज्य अभिभावक हो भन्ने भावना कमजोर हुँदै गएको कांग्रेसको निष्कर्ष छ । सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउँदै लगेको भन्दै कांग्रेसले यस विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिले सरकारलाई समयमै संवेदनशील भएर परिस्थितिको समीक्षा गर्न र नागरिकको विश्वास कायम गर्ने गरी काम गर्न आग्रह गरेको छ । त्यसैगरी नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेदेखि काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलाको उद्घाटन समारोहमा सहभागी हुने भएका छन् । पार्टी विभाजन गर्ने उद्देश्यले भेला आयोजना नगरिएको स्पष्ट पार्दै डा. कोइरालाले कार्यक्रममा सहभागी भएर पार्टी एकताका लागि आह्वान गरिने बताइएको छ । भेलामा कांग्रेसभित्र एकता, सहकार्य र संगठन सुदृढीकरणमा जोड दिइने बताइएको छ । पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा साउन २९ देखि भदौ १ गतेसम्म हुने भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा पनि सहभागी हुने बताइएको छ ।









