
काठमाडौं । प्रतिनिधि सभाको बैठकले नेपालको विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ लाई सर्वसम्मतिले पारित गरेको छ । सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकलाई सदनको बैठकमा निर्णयार्थ प्रस्तुत गर्दै पारित भएको घोषणा गरेका छन् । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयक पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको नेपालको विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत सर्वसम्मतिले स्वीकृत गरेको हो । बैठकमा प्रधानमन्त्री शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गौतमले उक्त विधेयक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । मन्त्री गौतमले अनुसन्धान गर्ने निकाय कुनै एकै स्थानमा मात्र विषय नभई सबै खालका सूचना प्रधानमन्त्रीसमक्ष पुग्दा राम्रो हुने र प्रधानमन्त्री स्वयंले देशको समग्र सुरक्षाको चासो राख्नुपर्ने भएकाले यस्ता विषय प्रधानमन्त्री कार्यालयअन्तर्गत रहने गरी बनाउनुपर्ने सरकारको धारणा रहेको बताएकी थिइन् । यसैबीच नेपाली कांग्रेसले एलपिजी ग्यास विस्थापन गर्ने स्पष्ट दीर्घकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न माग गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकारले विद्युत् खपतमा कर थपेर स्वच्छ ऊर्जा प्रयोग गर्ने नागरिकको प्रयासलाई निरुत्साहित बनाएको भन्दै स्पष्ट दीर्घकालीन नीति लागू गर्न माग गरेको हो । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले आफूलाई लक्षित गरी सामाजिक सञ्जालमा गलत सूचना तथा भ्रमपूर्ण सामग्री फैलाइएको भन्दै त्यसको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै शाहीले आफूले मादक पदार्थ सेवन गरी जथाभावी बोलेको भन्ने आरोप निराधार रहेको दाबी गरेका छन् । उनले आफूले जीवनमा मादक पदार्थ सेवन गरेको प्रमाणित गर्न सरकारलाई चुनौती दिँदै त्यसको प्रमाण भेटिए कानुनअनुसार कारबाही भोग्न तयार रहेको बताएका छन् । तर आफूले त्यस्तो पदार्थ सेवन गरेको प्रमाण नभेटिए आफूविरुद्ध गलत सूचना तथा भ्रामक सामग्री प्रचार–प्रसार गर्ने व्यक्तिमाथि पनि कानुनी कारबाही हुनुपर्ने उनको माग थियो । शाहीले आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले महिलासँगको तस्बिर तथा भिडियो जोडेर सामाजिक सञ्जालमा प्रचार गरिएको दाबीसमेत गरेका छन् । उक्त विषयमा समेत निष्पक्ष अनुसन्धान गर्न आग्रह गर्दै उनले अनुसन्धानबाट आफ्नो गल्ती प्रमाणित भए कारबाही स्वीकार गर्ने बताएका छन् ।









