
काठमाडौँ । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षहरूमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गर्न र त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । कानुनका विद्यार्थी विवेक चौधरीसहितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका हुन् । उक्त रिटको सुनुवाइ शुक्रबारका लागि पेसी तोकिएको छ । निवेदक चौधरीले नेपालभरका प्रहरी कार्यालय तथा हिरासतमा रहेका व्यक्तिहरूको अनुसन्धान गर्ने अधिकारी भएका सरकारी निकायका भवनहरूमा कुनै पनि भाग नछुट्ने गरी सीसीटीभी जडान गर्न माग गरेका छन् । यसैबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी नयाँ बजेट ल्याएको बताएका छन् । जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका छन् । राज्यको कमजोर आम्दानीका कारण ऋण मागेर देशको अत्यावश्यक दैनिक खर्च चलाउने विगतदेखिको अवस्थालाई चिर्न करको दायरालाई फराकिलो बनाएर थोरै–थोरै जम्मा गरी आम्दानी बढाउने र आफ्नै आम्दानीले देश विकास गर्ने नीति लिएको उनले बताएका छन् । जनताको विकास सम्बन्धी आशा र आकाङ्क्क्षाहरूको तुलनामा मुलुकको सामर्थ्य कम रहेको र यहीबेला दातृ निकायको ऋण पनि महँगो बनेको अवस्थामा मुलुक आफैँ धनी हुने अवस्थामा जानुको विकल्प नरहेको उनको भनाइ छ । त्यस्तै, अर्थमन्त्री वाग्लेले ऋण पनि लिन नहुने, कर पनि तिर्न नपर्ने तर विकास चाहिँ जसरी पनि गरिदिनुपर्छ भन्ने सोचबाट सबै जना माथि उठ्नुपर्ने पनि बताएका छन् । करको दायरा फराकिलो बनाउँदा नयाँ क्षेत्रमा कर थपियो भन्ने गुनासाहरू सम्बोधन गर्न सरकारले अन्तिम करको दायित्वबाट सर्वसाधारणलाई बचाउनेमा आश्वस्त रहन पनि उनले आग्रह गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने बताएका छन् । शेरबहादुर देउवालाई स्वागत गर्न बिमानस्थल पुगेका महतले सञ्चारकर्मीसँग कुरा गर्दै देउवाकै नेतृत्वमा पार्टीभित्र बृहत्तर एकता हुने दावी गरेका छन् । उनले देउवालाई स्वागत गर्न देशभरिबाट पार्टीका शुभचिन्तक तथा समर्थकहरू स्वतःस्फूर्त रूपमा बिमानस्थल आएको उल्लेख गरेका छन् । देउवालाई स्वागत गर्न डा.शशांक कोइराला, बिमलेन्द्र निधि लगायत कांग्रेस संस्थापनइतर समूहका नेता तथा कार्यकर्ताहरू बिमानस्थल पुगेका थिए ।









