
काठमाडौं । तिहारको अवसर पारेर कात्तिक २६ गते बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक गरिएको छ । प्रेममा रहेका जोडीको भावनालाई समेटिएको गीतमा एसडी योगीको संगीत तथा राम अविरल विष्टको शब्द छ । सनराइज पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर सिवाकोटी, हिना नगरकोटीलगायतको पनि अभिनय देख्न सकिनेछ । फिल्मलाई अभिनेत्री जीया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् । विवेक थापा सह–निर्मातामा छन् । करिब ३० को दशकको प्रेमकथामा आधारित यस फिल्मको कथा सामिप्यराज तिमल्सेना, सरिन पोखरेल र काजल केसीको हो भने पटकथा तथा संवाद सामिप्यराज र सरिनले तयार पारेका हुन् । फिल्ममा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन, युग भुसाल र एसडी योगीको संगीत, रोमन बज्राचार्यको पार्श्व संगीत तथा सार्थक तालेको ध्वनि संयोजन छ ।









