
काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय (टीयू) सभाको पदेन सदस्यबाट केन्द्रीय क्याम्पस, कीर्तिपुरका स्ववियु सभापतिलाई हटाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । प्रधानमन्त्री नेतृत्वको सरकारले अध्यादेशमार्फत टीयू सभामा केन्द्रीय क्याम्पसका स्ववियु सभापति पदेन सदस्य रहने व्यवस्था हटाएको थियो । उक्त निर्णयविरुद्ध स्ववियु सभापति दीपकराज जोशी सर्वोच्च अदालत पुगेका थिए । न्यायाधीश अब्दुलअजिज मुसलमानको इजलासले अन्तिम निर्णय नभएसम्म सभापतिलाई विश्वविद्यालय सभाबाट हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । अदालतको आदेशसँगै स्ववियु प्रतिनिधित्वसम्बन्धी विवाद कानुनी प्रक्रियामा प्रवेश गरेको छ । यसैबीच सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेको बताउँदै पुराना गलत राजनीतिक शैली दोहोर्याउने छुट सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नरहेको बताएका छन् । रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राजनीति कस्तो हुनुपर्छ भन्ने विषयमा नयाँ बहस सुरु भएको उल्लेख गर्दै जनताले विगतमा गलत भनेर आलोचना गरेका अभ्यासलाई निरन्तरता दिन नहुने बताएका छन् । सञ्चारमन्त्री तिमिल्सिनाले रास्वपाका हरेक सदस्यले आफूलाई नयाँ राजनीतिक संस्कारको संवाहकका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । पार्टी कुनै व्यक्ति वा समूहको स्वार्थ पूरा गर्ने, बिचौलियातन्त्रलाई संरक्षण गर्ने वा सीमित व्यक्तिको हितका लागि सञ्चालन हुने संस्था बन्न नहुने उनको भनाइ थियो । उनले प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेले अघि सारेको सुशासन, पारदर्शिता र उत्तरदायित्वको दृष्टिकोणअनुसार सबैले देशका लागि योगदान दिनुपर्ने बताएका छन् । मन्त्री तिमिल्सिनाले वडा, पालिका, जिल्ला र प्रदेश तहका कार्यकर्ताको सक्रिय योगदानबाट मात्रै पार्टी बलियो बन्न सक्ने उल्लेख गर्दै आन्तरिक लोकतन्त्र, सहमति र संगठनात्मक अनुशासनलाई प्राथमिकता दिन आग्रह गरेका छन् । सकेसम्म सहमति र सहकार्यको माध्यमबाट चुस्त, दुरुस्त र प्रभावकारी संगठन निर्माण गर्नुपर्ने उनको भनाइ थियो । राजनीति व्यक्तिगत स्वार्थपूर्ति गर्ने वा कसैलाई पदमा पुर्याउने माध्यम नभई देशलाई सही दिशा दिने साधन हुनुपर्ने धारणा व्यक्त गर्दै उनले वडातहदेखि नै राजनीतिक संस्कार परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।









