
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सीमा समस्या लगायतका द्विपक्षीय हितका विविध विषयमा भारतीय पक्षसँग गहन छलफल भएको जानकारी दिएका छन् । मन्त्री खनालले नेपाल र भारतबीच रहेका सीमा सम्बन्धी विवादहरूलाई ऐतिहासिक तथ्य र प्रमाणका आधारमा समाधान गर्न दुवै देश सहमत रहेको बताएका छन् । भ्रमणका क्रममा कालापानी र लिपुलेकको मुद्दालाई मन्त्री खनालले प्राथमिकताका साथ उठाएको बताएका छन् । भारत र चीनले लिपुलेक हुँदै मानसरोवर यात्राको बाटो खोल्ने सहमतिका विषयमा नेपाल सरकारले यसअघि नै पठाएको कूटनीतिक नोटबारे छलफल भएको उनले जानकारी दिएका छन् । सीमा विवादमा तेस्रो पक्षको संलग्नताबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा मन्त्री खनालले नेपालले कुनै मध्यस्थता नखोजेको स्पष्ट पारेका छन् । भ्रमणको सुरुवाती दिनमा मन्त्री खनालले नयाँ दिल्लीमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । यसैबीच सरकारका कामकारबाहीमाथि प्रभावकारी निगरानी बढाउने तथा संसदमा आफ्नो भूमिकालाई थप सशक्त बनाउने उद्देश्यसहित कांग्रेसले जिम्मेवारी तोकेका विभागीय मन्त्रालयगत संयोजकहरूको बैठक बसेको छ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकमा विभिन्न मन्त्रालयगत संयोजकको जिम्मेवारी पाएका सांसदहरूले सरकारका गतिविधि, मन्त्रालयहरूको कार्यसम्पादन तथा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूबारे धारणा राखेका थिए । बैठकमा मन्त्रिपरिषदको निर्णय तथा सरकारका कामकारबाहीको नियमित निगरानी गर्ने, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गर्ने तथा संसदमा प्रभावकारी ढंगले विषय उठाउने विषयमा छलफल भएको थियो । साथै, राष्ट्रिय महत्वका मुद्दामा पार्टीको धारणा निर्माण गर्न सुझाव दिने, जनताका गुनासा तथा समस्यालाई सम्बन्धित निकायसम्म पुर्याउने र सरकारलाई जवाफदेही बनाउन सक्रिय भूमिका खेल्ने निर्णय पनि भएको छ । यसबाहेक बैठकले मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकहरूको बैठक प्रत्येक महिना कम्तीमा एकपटक अनिवार्य रूपमा बस्ने निर्णय गरेको छ । आवश्यकता र परिस्थितिअनुसार जुनसुकै समयमा पनि बैठक बोलाउन सकिने जनाएको छ । त्यसैगरी पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन गुरुङले राजनीतिमा प्रतिपक्ष दलहरूले बिरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी गोरखाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले राम्रो कामलाई प्रतिपक्षले पनि सहयोग गरेर अघि बढ्नुपर्ने बताएका छन् । पूर्वगृहमन्त्री गुुरुङले देश बनाउन सबै मिलेर अघि बढनुपर्ने भन्दै रास्वपा देश बनाउन आएको पार्टी भएको उल्लेख गरेका छन् । गोरखा क्षेत्र नं १ का प्रतिनिधिसभाका सांसद्समेत रहेका उनले निर्वाचनमा आफूले गरेको बाचापत्र पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पूर्वगृहमन्त्री गुरुङले निर्वाचन क्षेत्रका जनताको समस्यालाई समाधानका लागि छिट्टै सचिवालय स्थापना गरेर काम गर्ने उनको योजना छ ।









