
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गरेका छन् । चीनको ग्वाङझाउ सहरमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत शुभकामना दिँदै उनले यस्तो आग्रह गरेका हुन् । सरकारले लगानीको माहोल बनाउने, देशमै रोजगारीको वातावरण सिर्जना गर्ने, एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी नीतिगत रणनीतिहरू कार्यान्वयन गरिरहेको भन्दै उनले नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरूलाई आग्रह गरेका छन् । सरकारले नतिजा देखिने गरी तीव्र गतिमा काम गरिरहेको उनको भनाइ छ । बजेटबाट २७ वटा नयाँ कानुनी ऐन ल्याएर लगानीमैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको भन्दै अर्थमन्त्री वाग्लेले सम्मानजनक रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिएको बताएका छन् । सरकारको आम्दानी बढाउन कर प्रणालीमा सुधार गरेको पनि उनको भनाइ छ । बजेटमार्फत आर्थिक राजकाजको जहाज मोडेको र पहिलो वर्ष सुधारको सुरुवात मात्रै गरेको उनले उल्लेख गरेका छन् । यी सबै लक्ष्य प्राप्तिका लागि आन्तरिक स्रोत अत्यन्तै महत्वपूर्ण भएको, बाह्य लगानीको स्रोत अप्ठ्यारो अवस्थामा रहेको र यही बेला प्रवासीको ज्ञान र पुँजी सरकारलाई चाहिएको उनको भनाइ छ । प्रवासको पुँजी र लगानी परिचालनको विषयमा पार्टीको घोषणा पत्रमा पनि उल्लेख भएको र सरकारले पनि विशेष पहल गरिएको उनले बताएका छन् । यसैबीच नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट न्याय पाएपछि पार्टी एकताबद्ध हुने विश्वास व्यक्त गरेका छन् । महाराजगन्जस्थित निवासमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले आफू विशेष महाधिवेशनको पक्षमा नरहेको स्पष्ट पारेका छन् । विशेष महाधिवेशनविरुद्ध आफूहरूले मुद्दा दायर गरेको भन्दै उनले पुनरवलोकनअघि धेरै बोल्न नहुने बताएका छन् । देउवाले लोकतन्त्रमा स्वतन्त्र र निष्पक्ष पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको पनि बताएका छन् । पाँच महिनापछि स्वदेश फर्किएका देउवाले अब सुदूरपश्चिम, विशेष गरी गृहजिल्ला डडेल्धुरा जाने इच्छा रहेको बताएका छन् । सुदूरपश्चिमले आफूलाई धेरै माया दिएको उल्लेख गर्दै उनले डडेल्धुराको विमानस्थल निर्माणको काम पूरा गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।









